'इमान्दार 'जुल्फे मुन्द्रे'ले डराउनु नपर्ने'

Unknown | 15:52 | 0 comments

२२ फागुन, काठमाडौं । लामो कपाल र मुन्द्रा लगाउनेहरुलाई प्रहरीले पक्राउ गर्दै कपाल कटाइरहेको खबर सार्वजनिक भइरहेका बेला काठमाण्डौ प्रहरी प्रमुख एसएसपी रणबहादुर चन्दले कपालसँग प्रहरीको कुनै सरोकार नभएको र मिडियाले आफैं कपाल काटेको दाबी गर्नुभएको छ । ‘हाम्रो निगरानी अपराधमा संलग्न हुनेहरुप्रति हो, लामो कपाल र मुन्द्रा लगाउनेप्रति हैन ।’- चन्दले मंगलबार भन्नुभयो- ‘हामीले फिल्डमा कसैलाई लामो कपाल पालेका आधारमा पक्रेर कपाल कटाएका छैनौं, बेकारको हल्ला फैलाइएको मात्र हो ।’‘फिल्डमा कहीँ पनि कपाल काटिएको छैन र कपालकै आधारमा पक्राउ गरिएको पनि छैन’ चन्दले भन्नुभयो- ‘मिडियामै कपाल काटियो, मिडियामै मुन्द्रा झिकियो ।’ ‘समातिएका मध्ये बहुसंख्यक लामो कपाल पाल्ने र मुन्द्रा लगाउनेचाहिं परेका हुन’ चन्दले भन्नुभयो- उनीहरुलाई आवश्यक परामर्शसहित अभिभावकको जिम्मा लगाएर पठाएका छौं ।’ ‘अपराधिक गतिविधिमै संलग्न भएको भेटिए पनि कानुनबमोजिम कारवाही गर्ने हो, कपालसँग कुनै सरोकार छैन’- चन्दले भन्नुभयो-’हाम्रै कष्टडीमा कतिजना कपाल पालेर बसेकै अभियुक्त छन्, हामीले अहिलेसम्म उनीहरुको काटेका छैनौं, उनीहरु पालिरहेकै छन् ।’ प्रहरीको अभियानप्रति चर्को आलोचना भएपछि रोक्न लागिएको हो कि भन्ने प्रश्नमा चन्दले भन्नुभयो- ‘कपाललाई लक्षित गरेर अभियान चलाएको पनि हैन र शान्ति सुरक्षा कायम गर्ने अभियान रोकिने कुरै छैन ।’ सामाजिक सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर काठमाण्डौंका स्थानीय जनतासँग गरेको अन्तरक्रिया र सुझावका आधारमा अपराधमा संलग्न हुनसक्ने स्वभाव र आचरणका करिव १२ सय युवा पक्राउ गरेको चन्दले जानकारी दिनुभयो । यसरी नियन्त्रणमा लिइएका १७ देखि २३ बर्ष उमेरका युवाहरु चोक चोकमा उद्देश्यविहीन तरिकाले बस्ने, चुरोट र गाँजा खाने, केटी जिस्काउने र स्थानीय तहमा झगडा गर्न जाने गरेको अनि कतिपयले धम्क्याउन पनि त्यही समूहलाई प्रयोग गर्ने गरिएको चन्दले बताउनुभयो । इमान्दारले डराउनु नपर्ने समाजमा कपालै नपालेका ठूला ठूला अपराधी पनि देखेको र कपाल पालेका सज्जन इमान्दार पनि रहेको भन्दै चन्दले भन्नुभयो- हामीले कपालका आधारमा कसैलाई अपराधी हो वा हैन भनेर निर्णय गरेका छैनौं, लामो कपाल पाल्ने र मुन्द्रा लगाउने इमान्दार नागरिक प्रहरीदेखि डराउनै पर्दैन, पुलिसले कपाल पालेकै आधारमा पक्राउ गर्दैन ।’ राजधानीमा हरेक रात डेढ दुई सयलाई विभिन्न अपराधमा संलग्नहरु पक्राउ परी आवश्यक प्रकृयापछि छाडिने गरेको भन्दै चन्दले भन्नुभयो-त्यही अभियानलाई दिउँसोमा पनि चलाइएको हो, नयाँ त हामीले केही गरेकै हैन ।’ कपाल पाल्न पाउनु अधिकार कपाल पाल्न पाउने अधिकारप्रति आफु सचेत रहेको बताउँदै चन्दले भन्नुभयो-’कपाल पाल्न पाउनु मान्छेको अधिकार हो, हामी पुलिस पनि समाजसँगै चल्ने हो, समाज कतातिर गइरहेको छ भन्ने हामीले राम्रोसँग बुझेका हुन्छौं, कपाल पाल्न पाउने अधिकार नै कुण्ठित गर्ने कुनै योजना र मनसाय छैन । तर, मेरो आग्रह के हो सामाज सुहाउँदो फेसन गरौं, सभ्य समाजको निर्माण गरौं ।’ तपाईमा चर्चामा आउने भुत सवार भएर यस्तो अभियान चलाएको भन्ने अरोप छ नि ? प्रश्नमा चन्दले भन्नुभयो- संचारमाध्यमले कुनै पुलिस अफिसरलाई हिरो बनाइदिने र कसैलाई भिलेन बनाइदिने गरेका छन् । वास्तविकता त्यस्तो हुन्न, मेरो २६ बर्षको पुलिस करियरमा संगठन र जनताले मलाई जसरी चिने, त्यसरी नै चिनिने हो, मैले एकाध चर्चामा आउने काम गर्दै राम्रो हुने र चर्चामा नआउँदैमा खराव हुने भन्ने लाग्दैन ।’

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments