प्लस टू शिक्षा नेपालमै कि भारतमा?

Unknown | 08:35 | 0 comments

नेपाल र भारतबीच ‘रोटी र बेटी’को सम्बन्ध नयाँ होइन । भाषा, संस्कृति, रहनसहन, वेशभूषा र शिक्षा आदिमा यी दुई छिमेकीबीच धेरै समानता छ । त्यसैले, राणाकालदेखि नै भारत नेपालीको शैक्षिक गन्तव्य बन्दै आएको छ । फरक यत्ति हो कि त्यसबेला अध्ययनका लागि वनारस, रुडकी र तत्कालीन कलकत्ता शिक्षाका लागि नेपालीको आकर्षणका केन्द्र थिए भने अहिले दिल्ली, पुने, चेन्नई र बैङ्गलोर जाने नेपालीहरू बढेका छन् । भारतसँग खुला सिमाना तथा त्यहाँ द्रुत गतिमा भइरहेको प्रविधि विकासले पनि यो अवस्था सृजना भएको हुन सक्छ । अर्कातर्फ, भारतीय शैक्षिक संस्थाहरूले विश्वस्तरीय शिक्षा दिन थालेका छन् । यसले पनि भारत धेरै नेपाली युवाको शैक्षिक गन्तव्य बनेको हो ।

यद्यपि, उच्च शिक्षाका लागि भारत जाने चलन अब रोकिनुपर्छ भन्नेहरूको जमात पनि बढ्दै गएको छ । पछिल्लो समय स्थापना भएका शैक्षिक प्रतिष्ठानहरूले राष्ट्रिय तथा अन्तरराष्ट्रिय विश्वविद्यालयबाट सम्बन्धन लिई अन्तरराष्ट्रियस्तरको शिक्षा दिन थालेपछि धेरै युवा शिक्षाका लागि विदेसिनुपर्ने बाध्यताबाट मुक्त भएका छन् । ‘नेपालमा पनि विश्वस्तरीय अध्ययन शुरू भइसकेको छ,’ उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिशान)का अध्यक्ष उमेश श्रेष्ठ भन्छन्, ‘अध्ययनकै लागि लर्को लागेर भारतलगायत मुलुक जाने क्रम अब रोकिनुपर्छ ।’ बढ्दो आधुनिकता तथा विश्वव्यापीकरणसँगै नेपालमै पनि शिक्षामा नयाँ प्रविधिको प्रयोग बढ्दो छ । प्रविधिकै कारण उच्च शिक्षा हासिल गर्न अब बाहिर वा भारत जानु नपर्ने श्रेष्ठको जिकीर छ ।

समानताका बीच भिन्नता
नेपाल उच्च माध्यमिक शिक्षा परिषद् (एचएसईबी) र भारतको दिल्ली विश्वविद्यालयको पाठ्यक्रम खासै फरक छैन । दुवैले कक्षा ११ र १२ तर्फ पाँच–पाँचओटा विषय अध्ययन गर्न पाउने मापदण्ड तोकेका छन् । त्यसैले पनि दिल्ली विश्वविद्यालय र उमाशिपबाट सम्बन्धनप्राप्त कलेजले पढाउने विषयमा केही मात्र भिन्नता हुन सक्ने लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका कार्यकारी निर्देशक पङ्कज जालान बताउँछन् । यद्यपि, भारतमा केन्द्रबाहेकका राज्यद्वारा सञ्चालित बोर्डले पनि आ–आफ्नै किसिमका पाठ्यक्रम निर्धारण गरेका छन् । परिणामतः राज्यपिच्छे पाठ्यक्रम फरक पर्ने गरेको एस कलेज अफ म्यानेजमेण्टका प्रिन्सिपल आशिष तिवारी बताउँछन् । ‘भारतमा राज्यपिच्छे बोर्ड हुन्छन् अनि बोर्डपिच्छेका पाठ्यक्रम,’ उनी भन्छन्, ‘तर, पनि हामीबीच धेरै समानता छ ।’ यति हुँदाहुँदै पनि यी दुई मुलुकको शिक्षा बोर्डमा केही असमानता छ, जसले हाम्रो शिक्षाको स्तरमा फरक परिरहेको छ ।

वजनदार पाठ्यक्रम
नेपालको पाठ्यक्रममा विषयगत छनोटको दायरा फराकिलो हुने गरेको छ । विद्यार्थीलाई कुन विषय उपयुक्त हुन्छ भन्ने निर्णय नगरी परिषद्ले जतिसक्दो धेरै विषय समावेश गर्न खोजेको देखिन्छ । हामी गुणात्मकभन्दा पनि परिमाणात्मक रूपमा अघि बढिरहेका छौं । ‘यता, अभिभावक, शिक्षक र कलेज बढी सक्रिय छन्,’ जालान भन्छन्, ‘विद्यार्थीले आफ्नो रोजाइअनुसारको विषय छनोट गर्ने साहस गर्न सकेका छैनन् ।’ भारतमा भने त्यहाँको बोर्डले निश्चित विषय मात्र छनोट गर्न सकिने व्यवस्था गरेको छ । साथै, विद्यार्थीलाई कुन विषय उपयुक्त हुन्छ भन्ने निश्चित भइसकेको छ । ‘विद्यार्थीलाई के चाहिने हो त्यो मात्र दिने चलन त्यहाँ छ,’ तिवारीले भने, ‘यता भने जबरजस्ती विषय लाद्ने चलन बढी छ ।’

प्रयोगात्मक
भारतको तुलनामा नेपालको अध्ययन विधि अलि बढी प्रयोगात्मक रहेको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् । नेपालले प्लस टू शिक्षाबारे भारतबाटै सिकेको हो । छोटो समयमै नेपाली शैक्षिक संस्थाले प्रगति गर्न सफल भएको शिक्षाविद् डा. तीर्थ खनियाले बताए । भारतमा बोर्डको परीक्षा कक्षा–१२ मा मात्र हुने गर्छ । तर, नेपालमा भने ११ र १२ मा नै बोर्ड परीक्षा हुने भएकाले नेपालको प्लस टू केही बलियो भएको उनको धारणा छ । ‘अहिले निजीक्षेत्रबाट खुलेका शैक्षिक संस्थाहरूले नेपालका उत्कृष्ट र मेहनती विद्यार्थीको मन जित्न सफल भएका छन्,’ उनले भने । त्यस्तै, विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति पनि उत्पादन हुन थालेकाले भारतको भन्दा नेपालको प्लस टू शिक्षा केही स्तरीय भएको उनले बताए ।
भारत सरकारले विज्ञान विषयको प्रयोगात्मक शिक्षणमा जीवजन्तु प्रयोग गर्न नपाउने नियम बनाएको छ । ‘यसको प्रत्यक्ष असर शिक्षामा परेको देखिन्छ,’ जालानले भने । यता, नेपालमा भने जीवजन्तुको प्रयोग रोकिएको छैन । ‘यसले नेपालमा प्रयोगात्मक शिक्षाको अभ्यास अलि बढी भएको देखाउँछ,’ उनले भने । त्यस्तै, होटल म्यानेजमेण्ट, आमसञ्चार, ट्राभल एण्ड टुरिजम, कम्प्युटर साइन्सलगायत विषयहरूका लागि पनि प्रयोगशालालगायत पूर्वाधार स्थापना गर्ने क्रम पछिल्ला वर्षमा ह्वात्तै बढेको छ ।

शिक्षण विधि
शिक्षण विधि कुनै पनि देशमा समान हुँदैन । भौगोलिक बनावट, भौतिक पूर्वाधार, कलेजको वातावरण, नीतिनियम तथा स्रोतसाधनको पहुँचले शिक्षण विधिलाई प्रभाव पार्ने गरेको शिक्षाविद्हरू बताउँछन् । ‘त्यसैले त कलेजले ल्याउने परिणाम फरक पर्छ,’ तिवारी भन्छन्, ‘यो मुलुकहरूमा मात्र होइन, कलेजहरूबीच पनि फरक हुन्छ ।’
परिणाममुखी
भारतको दिल्ली विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूले ९८ प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण गरेको तथ्याङ्क छ । तर, नेपालका उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धनप्राप्त कलेजको औसत नतीजा ५० प्रतिशत कट्न सकेको छैन । भारतको तुलनामा नेपालमा विषयगत परीक्षा लिने चलन बढी रहेको तिवारी बताउँछन् । नेपालका प्रश्नहरू बढी मात्रामा विषयगत हुने गरेको उनको भनाइ छ । ‘यस मानेमा हामी नम्बर दिन कन्जुस्याइँ गर्छौं,’ तिवारी भन्छन्, ‘भारतमा वस्तुगत परीक्षा लिइने भएकाले पनि राम्रो अङ्क आउने गरेको हो ।’ राज्यपिच्छेका बोर्डमा पनि नतीजा फरक हुन सक्ने उनी बताउँछन् । ‘तुलनात्मक रूपमा भारतमा भन्दा नेपालमा थोरै जनसङ्ख्या भएकाले पनि हामीले प्राप्त गर्ने नतीजा न्यून लागेको हुन सक्छ । यद्यपि, हामीले प्राप्त गरको नतीजा पनि कम छैन,’ उनले भने ।

फर्कने हो भने नगएकै राम्रो प्लस टूपछिको अध्ययन नेपालमै गर्न चाहने विद्यार्थीका लागि भारतको शिक्षा उपयुक्त नभएको एस कलेजका प्रिन्सिपल तिवारीको सुभाव छ । ‘भारतमा अलि बढी विषयगत प्रश्नहरू हुने गरेकाले नेपालको सँग ठ्याक्कै मेल खाँदैन,’ उनी भन्छन्, ‘त्यसैले पनि उताको परिणाम राम्रो देखिए पनि आहा भनिहाल्नुपर्ने अवस्था छैन ।’ नेपालको शैक्षिकसत्र भारतको तुलनामा ढिला छ । तर, भारतको शैक्षिकसत्र अन्तरराष्ट्रिय क्यालेण्डरअनुसार भने मिल्न जान्छ । नेपाल र भारतको शैक्षिकसत्रमा तालमेल नमिल्दा मुलुक परिवर्तन गर्नासाथ केही समस्या उत्पन्न हुन सक्छ । तिवारी भन्छन्, ‘प्लस टूपछिको अध्ययन नेपालमा गर्न चाहनेले भारत गइरहनुपर्दैन । नेपालको उच्च शिक्षा अन्तरराष्ट्रियस्तरको छ । विश्वको जुनै कुनामा गए पनि यसले मान्यता पाउँछ ।’

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments