बर्खाको भेलले सिंहदरबार जलाम्य

Unknown | 01:42 | 0 comments

काठमाडौं - प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा मंगलबार दिउँसो बर्खाको भेल पस्दा कर्मचारी र सेवाग्राही हैरान भए। दिउँसो पौने एक बजे सुरु भएको मुसलधारे वर्षाको पानीले निकास नपाउँदा छिरेको भेलले मन्त्रिपरिषद कार्यालयको भूमिगत कोठा (अन्डरग्राउन्ड रुम) जलाम्य भएको थियो।

कार्यकक्षमा भेल छिरेलगत्तै कर्मचारी आत्तिँदै बाहिर निस्केका थिए। 'पानीको भेल छिरेलगत्तै कर्मचारी कार्यकक्षबाट भागदौड गरेर निस्के,' कार्यालयका एक कर्मचारीले भने, 'नेपाली सेना, प्रहरी, महानगरका दमकलले भित्र जमेको पानी तानेर स्थिति सामान्य बनाए।'

दुइटा दमकलले एक घन्टाभन्दा बढी समय लगाएर जमेको पानी बाहिर तानेका थिए। भेलले भूमिगत कोठामा रहेका सुदूरपश्चिम विकास आयोग, मन्त्रिपरिषद कार्यालयको प्रेस शाखा, सुशासन महाशाखाजस्ता कार्यालयमा रहेका कम्प्युटर, कार्पेट तथा कागजपत्र भिजायो। इलेक्ट्रोनिक प्यानल भएको कोठामा भेल पसेलगत्तै सिंहदरबारमा बिजुलीसमेत अवरुद्ध भयो। सिंहदरबार पुनर्निर्माण समितिका प्रशासकीय अधिकृत रामप्रसाद बेलबासेले ढल जाम भएका कारण भवनमा पानी छिरेको हुन सक्ने बताए। कार्यालयभित्र पानी पसे पनि भवन भत्कने जोखिम भने नरहेको उनले बताए। मन्त्रिपरिषद अध्यक्षको कार्यकक्षको ठीकमुनि रहेको भूमिगत कोठा (अन्डरग्राउन्ड रुम) बाट भेल छिरेको हो ।

'भेलले सिंगो भवनलाई जोखिम पुर्‍याउने सम्भावना छैन,' उनले भने, 'जहाँ पानी छिर्‍यो, ती कार्यकक्षका सामग्री भिजाएको छ।' उनले यसअघि पनि भेल छिरेको जानकारी दिए। 'वर्षातको सुरुआतमा पनि भेल छिरेको थियो,' उनले थपे, 'अहिले दोहोरियो।'

ढलमा केही अड्केका कारण यस्तो समस्या आएको हुन सक्ने उनले अनुमान गरे। ८ सय रोपनी क्षेत्रफलमा फैलेको सिंहदरबार परिसरमा २४ मन्त्रालयसहित ५० भन्दा बढी कार्यालय छन्। पानी छिरेको भवन २०३८ सालमा पुनर्निर्माण गरिएको उनले सुनाए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सूर्य सिलवालले भवनको उत्तरपट्टि कुनाबाट पानी छिरेको बताए। 'अचानक यत्रो पानी कसरी छिर्‍यो, हामी अचम्ममा छौं,' उनले भने, 'बुधबार यसै विषयमा सरोकारवाला सबैलाई बोलाएका छौं।' उनले यसअघि पनि पानी छिरेको र सबै ढल सफा गरिएको बताउँदै फेरि कतै जाम भएको हुन सक्ने बताए।

सिलवालका अनुसार दीर्घकालीन समाधानका लागि दूरसञ्चार, खानेपानी, सहरी विकास, सिंहदरबार पुनर्निर्माण कार्यालयलगायतलाई छलफलमा डाकिएको छ। मंगलबार दिउँसो उपत्यका र आसपासका Ôेत्रमा ठूलो वर्Èा भएको थियो। १२ः४५ देखि १ बजेसम्म १५ मिनेट अवधिमा सिंहदरबार परिसर नजिकैको बबरमहल क्षेत्रमा मात्र १८ दशमलब ६ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद शिव नेपालले जानकारी दिए। 'यो क्षणिक भारी वर्षा हो,' उनले भने।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments