विना सलामी आर्यघाटमा नाराबाजीसँगै अस्ताए मरिचमान
|
|
३१ साउन, काठमाडौं । दिवंगत पूर्वप्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको अन्त्येष्टीमा सरकारले राजकीय सम्मान दिएन । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई सम्मान मात्र दिने निर्णय गरेपछि आफन्तजन र शुभेच्छुकहरुले पशुपति आर्यघाटमा नारावाजी गर्दै ‘श्रीमान् गंभीर नेपाली’ बोलको पुरानो राष्ट्रियगान गाएर सिंहलाई विदाइ गरे ।
राज्यले राजकीय सम्मान नदिएको भन्दै मृतक श्रेष्ठका आफन्त र शुभचिन्तकहरुले प्रहरद्वारा दिन लागिएको सलामीसमेत बहिस्कार गरे । राजकीय सम्मानको माग गर्दै पशुपति आर्यघाटमा नाराबाजी गरेका थिए । राजकीय सम्मान नदिए प्रहरीको सम्मान नदिने भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । आफन्त र शुभचिन्तकको नाराबाजी गर्दै अवरोध गरेवछि सम्मानका लागि गएको प्रहरी ब्याण्ड फर्कियो ।
प्रहरी टोली फर्किएपछि श्रेष्ठलाई दागवती दिने क्रममा आफन्त र शुभचिन्तकले पूरानो राष्ट्रगान ‘श्रीमान गम्भीर नेपाली ….’ गाएका हुन् ।
विहीबार बिहान नर्भिक अस्पतालमा निधन भएका पूर्वप्रधानमन्त्री श्रेष्ठको शवयात्राअघि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि उहाँको निवास धापासीमा राखिएको थियो ।
पूर्वप्रधानमन्त्री श्रेष्ठप्रति श्रद्धान्जली दिन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, बाबुराम भट्टराई, झलनाथ खनाल, सूर्यबहादुर थापा लगायतका नेताहरु धापासी पुग्नुभएको थियो । ०४३ असारदेखि ०४६ चैत्रसम्म प्रधानमन्त्री रहेका श्रेष्ठलाई राष्ट्रवादी नेताका रुपमा लिइन्छ ।
किन दिएन सरकारले राजकीय सम्मान ?
२०४७ साल वैशाख १ गतेपछिका प्रधानमन्त्रीलाई मात्र निधनमा राजकीय सम्मान दिने राजपत्रमा व्यवस्था रहेको मन्त्रिपरिषद्का एक अधिकारीले बताए । ‘०४७ वैशाख १ उप्रान्तका प्रधानमन्त्रीलाई राजकीय सम्मान दिइने राजपत्रमा उल्लेख भएकाले मरिचमान यो प्रावधानबाट समेटिनु भएन’ ती अधिकारीले भनेका छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार श्रेष्ठको पार्थिव शरीर बोक्नका लागि ८ जना प्रहरी खटाइयो भने परिवारजनले मागेको अवस्थामा किरिया अवधिमा २ जना प्रहरी उपलब्ध गराइने क्याबिनेटले निर्णय गर्यो । साथै अन्त्येष्टीका बेला गार्ड अफ अनर दिइने लगायत तीन सुत्रीय निर्णय गरेर मन्त्रिपरिषद्ले गृहमन्त्रालयलाई पठायो ।
प्रचण्डदेखि कमल थापासम्म सबै राजकीय सम्मानको पक्षमा
पूर्वप्रधानमन्त्री मरिचमानलाई राजकीय सम्मान दिनुपर्ने विचारमा प्रचण्डदेखि कमल थापासम्म सबैले सहमति जनाएको देखिए पनि सरकारले राजपत्रमा टेकेर निर्णय गरेको हो ।
श्रेष्ठको निधनपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई टेलिफोन गरी राजकीय सम्मान दिन माग गर्नुभयो । श्रेष्ठलाई श्रद्धान्जली दिन उहाँको निवास धापासी पुगेका पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराईले श्रेष्ठ राष्ट्रवादी नेता भएको भन्दै सम्मानका लागि पहल गर्ने आश्वासन दिनुभएको थियो ।
सिंह प्रधानमन्त्री हुँदा गृहराज्यमन्त्री रहेका राप्रपा नेपालका नेता निरञ्जन थापाले अनलाइनखबरसँग भन्नुभयो-’यो राष्ट्रवादी नेताप्रति सरकारले गरेको अपमान हो । सरकारले इतिहास मेट्ने प्रयास गरेको छ ।’
उता एमाओवादी अध्यक्ष प्रचण्डले एउटा कालखण्डमा राष्ट्रका लागि सिंहले महत्वपूर्ण भमिका खेलेको बताउनुभयो । सिंहलाई अन्य प्रधानमन्त्रीलाई सरह राजकीय सम्मान प्रदान गर्न आफूले सरकारसँग आग्रह गरेको प्रचण्डले बताउनुभयो ।
|
|
Category: News


0 comments