कसरी चढ्ने होला दसैंमा हवाइजहाज !

Unknown | 02:58 | 0 comments

 नेपाल वायु सेवा निगमका जहाज दसैंअघि नै थन्कने अवस्था आएपछि दसैं मनाउन पूर्वी पहाड जानेहरु समस्यामा परेका छन् । दूर्गम पहाडी जिल्लाहरुमा सडक यातायात भरपर्दो नभएपछि काठमाडौं बस्दै आएका पहाडका बासिन्दाहरुका लागि हवाइ यातायात एकमात्र विकल्प रहेको छ ।

पूर्वको कर्णाली मान्ने गरिएका ओखलढुंगा, खोटाङ, भोजपुर, ताप्लेजुङ जस्ता दूर्गम पहाडी जिल्लाका बासिन्दालाई राजधानीबाट दसैं मनाउन घर पुग्न समस्या हुने भएको छ । नेपाल एयरलायन्सले उडाइरहेका दुईवटा जहाजमध्ये एउटा जहाज यसअघि नै ग्राउन्डेड भइसकेको छ भने हाल उडानमा रहेको एउटा ट्वीनअट्टर जहाज उडानको अवधि केही घण्टामात्र बाँकी रहेको छ ।

निगमले ट्वीनअटर जहाजका लागि ६ वटा नयाँ इन्जिन भारत र युरोपबाट दसैं अघि नै ल्याउने जनाए पनि ती इन्जित दसैंअघि नआउने पक्का भएको निगम स्रोतको भनाइ छ । ‘यो पटक घर कसरी जाने उपाय खोजिरहेको छु । भोजपुर सदरमुकामसम्म गाडी पुग्दैन, जहाजको टिकट खोजेको कतैबाट मिल्दैन ।’ बानेश्वर बस्दै आउनुभएका भोजपुरका अर्जुन नेपालले अनलाइनखबरसँग भन्नुभयो, ‘नेपाल वायु सेवाको जहाज १५ गतेअघि नै थान्को लाग्ने भन्दै टिकट दिंदैनन् । तारा एयरलायन्सले टिकट बेचिसकेको भन्छ ।’

नियमित उडान भर्दै आएको एनएसी नउड्ने अवस्था आएपछि भोजपुर र खोटाङका यात्रुले हप्तामा एक पटक उडान भर्ने यति र तारा एयरलायन्सको भर पर्नुपर्ने भएको छ । भोजपुर, खोटा र ताप्लेजुङजस्ता दूर्गम जिल्लामा काठमाडौं सडक यातायातबाट पुग्न कम्तिमा ३ देखि ५ दिन लाग्छ ।

“नेपाल वायु सेवाको जहाज उडेन भने हामी थप उडान भर्ने तयारीमा छौं । तर, दसैंको बेलामा जहाजको माग अन्यत्र पनि हुने भएकाले यात्रुको माग पुरा गर्न भने गाह्रो छ ।” भोजपुरमा तारा एयरलायन्स उडानको व्यवस्थापन गर्दै आएका लालुपाते ट्राभल्सका रोशन श्रेष्ठले भन्नुभयो ।

तारा एयरलायन्सले उडान भरिरहेका पूर्वी पहाडका केही जिल्लामा दसैंका लागि चार्टर उडान गरिरहेको छ । ताराले भोजपुरमा यसअघि देखि नै चार्टर उडान गरिरहेको सो एयरलायन्सले जनाएको छ ।

लामीडाँडा विमानस्थलमा हप्तमा २ वटा उडान भर्दै आएको नेपाल वायु सेवा निगमको उडान बन्द हुने भएपछि दसैंमा घर जान काठमाडौंबासीले हेलिकप्टर समेत चार्टन गर्न थालेका छन् । “प्रतिव्यक्ति १५ हजार रुपैयाँ खर्चेर दसैं मनाउन यहाँ नागरिक हेलिकोप्टरबाट आउन थालेका छन् । तारा एयरले हप्तामा दुईवटा मात्र उडान भर्ने भएकाले दसैंमा घर आउन चहाने धेरैजसोको यात्रा कष्टकर हुने भएको छ ।” खोटाङ निवासी लोकनाथ घिमिरेले भन्नुभयो ।

कच्ची सडकलेमात्र जोडिएका पूर्वका ५ वटा जिल्लामा घर र्फकनेहरुका लागि सबैभनदा सहज हवाई यात्रा हो । वर्षमा ६ महिनामात्र गाडी गुड्ने ती पहाडी जिल्लामा जान पक्की सडकसम्म गाडीबाट गएर पैदलयात्रा गर्नुबाहेक अर्को विकल्प छैन ।

“हेलिकप्टरलाई ३० हजार तिरेर जान सकिन्न । सडक यातायात भरपर्दो छैन । यो पटकको दसैं तिहार अलपत्र पर्ला जस्तो छ । अहिले जहाज उडाइरेका कम्पनीमा टिकट लिन जाँदा एक महिनापछिसम्म बुक भइसकेको जवाफ दिइरहेका छन् ।” काठमाडौंमा कार्यरत खोटाङका पत्रकार सईन्द्र राईले भन्नुभयो ।

पूर्वी पहाडी जिल्लाहरुमध्ये पर्यटकीय केन्द्रहरु सोलुखुम्बु र संखुवासभामा विमानस्थलको धावनमार्ग पक्की भएकाले ती जिल्लामा बाहै्र महिना जहाज अवतरण हुन्छन् ।

ओखलढुंगाको रुम्जाटार विमानस्थलमा नेपाल वायु सेवा निगमले उडान भर्न छोडिसकेको छ । अहिले हप्तामा एक पटक विहिबार तारा एयरलायन्सले मात्र काठमाडौंबाट उडान भर्दै आएको छ । “दसैंमा घर र्फकन चहाने ओखलढुंगाबासीका लागि काठमाडौबाट आउन एकमात्र विकल्प सडक यातायात हो । कच्ची सडकमा कष्टकर यात्रा गरेर मात्र यहाँ आइपुग्न सकिन्छ ।” खोखलढुंगा निवासी शिव ढुंगानाले भन्नुभयो ।

सडक यातायातबाट घर जानेका लागि यसअघि नै बस व्यावसायीहरुले दसैंका लागि अग्रीम टिकट बुकिङ खुल्ला गरिसकेका छन् । बसको पनि टिकट नपाइएको गुनासो उपभोक्ताले गरेपछि ट्राफिक प्रहरीले अनुगमनलाई तीव्र पारिरहेको छ ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments