अस्ट्रेलियाबाट फर्केर जिउँदो माछाको व्यापार
|
|
‘म नेपाल आइपुग्दा यहाँको वातावरण व्यवसाय गर्नेखालको थिएन, भर्खरै संविधानसभा विघटन भएको थियो, दिनैपिच्छे बन्द हड्ताल हुने गरेको थियो’ उप्रेतीले विगत सम्झँदै भने- ‘नेपाल आइसकेपछि मैले राजधानीमा माछा व्यापारको सर्भे गरेँ, विज्ञहरुसँग परामर्स लिएँ, राजधानीमा दैनिक ३१ टन माछा खपत हुने रहेछ, अधिकांश माछा भारतको आन्ध्र प्रदेशबाट ल्याएर यहाँको माग पूर्ति गरिएको रहेछ ।’

भारतबाट ‘फर्मालिन’ नामक औषधी राखेर ल्याइएका माछा खान राजधानीवासी बाध्य भएको उनको सर्भेले देखायो । त्यसपछि राजधानीवासीलाई ताजा र जिउँदा माछा खुवाउन हौसिएको उनले सुनाए । राजधानीमा माछाको बढ्दो माग देखेपछि उनले चितवनमा रहेको १० विगाहा जग्गामा १७ वटा पोखरी खनेर माछाका भुरा हाले । त्यति गर्दा उनको करिव २६/२७ लाख रुपैयाँ खर्च भयो । तर, खाडल खन्ने क्रममा डोजर लगाउँदा गिट्टी, बालुवा र काठ भेटिएपछि त्यसलाई बिक्री गरे, जस्ले गर्दा उनको १० लाख रुपैयाँभन्दा बढी रकम जोगियो ।
पोखरीमा माछाका भुरा हालेर अस्टे्रलिया हानिएका उनी गत फागुनमा पुनः स्वदेश फर्किएर राजधानीमा ताजा र जिउँदा माछाको व्यापार गर्न थाले । शुरुमा काठमाडौंको नरेफाँटमा पसल खोलेर जिउँदा माछाको व्यपार शुरु गरेका उनले त्यहाँ राम्रो बिक्री नभएपछि वैशाखमा चावाहिल गणेस्थानबाट भत्केको पुल जाने बाटोमा व्यापार शुरु गरे ।
गणेस्थानबाट दैनिक ६० देखि किलोसम्म जिउँदा माछा बिक्री हुने गरेको छ । भदौको अन्त्यतिर काठमाडौंको थापागाउँस्थित मेट्रो कलेजको अगाडी खोलिएको अर्को बिक्री केन्द्रमा पनि जिउँदा माछा किन्न आउनेहरुको भिड लाग्न थालेको छ । दुई बिक्री केन्द्रबाट दैनिक १ सय ६० किलोसम्म जिउँदो माछा बिक्री हुने गरेको छ । शनिवार र अन्य विदाको दिनमा बिक्री थप बढी हुने गरेको छ । उप्रेतीका अनुसार गणेस्थानबाट एक दिनमा १ सय ९८ किलोसम्म माछा बिक्री भएको थियो । बानेश्वरमा ८० केजिसम्म बिक्री गरेको उनको अनुभव छ ।
उनले ७ जातका जिउँदा माछाहरु राजधानी ल्याएर बिक्री गर्ने गरेका छन् । उनले बिक्री केन्द्रमा पोखरीसमेत बनाएका छन्, जहाँ माछा बिक्री नहुञ्जेलसम्म जिउँदै राखिन्छ । उनले रहु, नैनी, ग्रास कार्प, कमन कार्प, सिल्भर कार्प, बिग हेड, तिलेपिया लगाएतका जातका माछाहरु बिक्री वितरण गर्दै आएका छन् । सबै जातका माछाको मूल्य ४ सय ५० रुपैयाँ पर्ने उनले बताए ।
यसरी ल्याइन्छ जिउँदा माछा
जिउँदा माछा बोक्ने भ्यान नभएपछि उनले चितवनबाट गाडीमा ४ वटा प्लाष्टिकका ट्याङ्की राखेर माछा राजधानी भित्राउँछन् । चितवनबाट राजधानी ल्याइएका माछालाई उनले बिक्री केन्द्रमा रहेका पोखरीमा राख्छन् । माछालाई जिउँदो राख्न आवश्यक अक्सिजनको उनले पोखरीमा व्यवस्था गरेका छन् । उनले पोखरीमा गुल्कोज राखेर मिलाउने गरेको बताए ।
चितवनबाट माछा ल्याउँदा पनि उनले ट्याङ्कीमा अक्सिजनको व्यवस्था गरेका हुन्छन् । त्यसरी ल्याउँदा अक्सिजनका दुईवटा सिलिण्डर सकिने गरेको उप्रेतीले बताए । पसलमा माछा किन्न आउने ग्राहकहरुलाई उनले जिउँदा माछा काटकुट गरेर बेच्ने गर्छन् । उनले चितवनमा आदर्श मत्स्य पालन कृषक समुह खोलेर उक्त समुहमा आवद्ध सबै किसानहरुको माछा राजधानी ल्याउने गरेका छन् । उनलाई एक टिपमा साढे २ सयदेखि ३ सय केजीसम्म माछा ल्याउन १०/१२ हजार रुपैयाँ पर्ने गरेको छ ।
कठिनाइ
सरकारले जिउँदा माछा ओसार-पसार गर्ने भ्यान ल्याउन भन्सार छुट दिएमा माछाको मूल्य अझै कम पर्न जाने उप्रेतीले सुनाए । नेपालमा सानो आकारको भ्यान ल्याउन पनि ६२ लाख ७२ हजार रुपैयाँ पर्ने हुँदा ल्याउन नसकिएको गुनासो उनको थियो । ‘सरकारले नेपाललाई कृषि प्रधान देश भनेर भन्छ, तर, यस क्षेत्रमा आवद्ध व्यवसायीहरुको हितमा हुने काम गर्न पछि हट्ने गरेको छ’ उनले भने- ‘कृषि क्षेत्रका विकासका लागि सरकारले किसानहरुलाई सहुलियत प्रदान गर्नैपर्ने हुन्छ ।’
त्यस्तै, माछा ल्याउँदा बाटोमा समेत पुलिसहरुले दुःख दिने गरेको उनको भनाइ छ । माछा राजधानी ल्याउँदा धेरै ठाउँमा पैसा खुवाउनुपर्ने तीथो यथार्थ रहेको उनले सुनाए । नेपाल मत्स्य व्यवसायी संघले पनि व्यवसायिक हितमा भन्दा पनि आफ्नो हितमा काम गर्ने गरेको हुँदा साना किसानहरु मर्कामा परेको उनको गुनासो रहेकेा छ ।
सोचेभन्दा राम्रो
माछा व्यापारमा सोचेजस्तै सफलता हासिल गरेको बताउँदै उनले निकट भविष्यमा महाराजगञ्जमा पनि बिक्री केन्द्र खोल्ने योजनामा रहेको बताए । अहिले त्यहाँ ठाउँ खोजीरहेको उनको भनाई छ । उनले माछामा कुनै पनि केमिकल प्रयोग नगरेको दाबि गरेका छन् । उपत्यकावासीलाई चितवनका जिउँदा र फ्रेस माछा खुवाउने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।
|
|
Category: News


0 comments