SLC मा नयाँ नियम कडा- “चिट चोरे सबै परीक्षा रद्द”

NayaFilm | 11:08 | 0 comments


काठमाडौं, माघ २१ – एसएलसी परीक्षामा चिट चोर्ने विद्यार्थीको सम्बन्धित विषयको मात्र नभई सबै परीक्षा रद्द हुने भएको छ। परीक्षालाई थप व्यपस्थित र मार्यादित बनाउन परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले यो निर्णय गरेको उपनियन्त्रक प्रह्लाद अर्यालले जनाए। ‘ऐन नियम फितलो भएकैले गत वर्षसम्म पनि परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निकै धौधौ पर्यो ,’ उनले भने, ‘त्यसैले यो वर्ष परीक्षा बोर्डको बैठकबाटै माध्यामिक शिक्षा परीक्षा सञ्चालन निर्देशिकामा संशोधन गरी चिट चोर्ने विद्यार्थीको सबै परीक्षा रद्द गर्ने निर्णय गरेको हो। अमर्यादित कार्य गर्ने विद्यार्थी पूरक परीक्षामा समेत सामेल हुन नपाउने व्यवस्था निर्देशिकामा छ।
परीक्षार्थी या अभिभावकले परीक्षा केन्द्रमा उच्छृंखल काम गरे, सम्बन्धित केन्द्राअध्यक्षको सिफारिसमा ती विद्यार्थीलाई दुई वर्षसम्म एसएलसी परीक्षाबाट वन्चित गराइनेसम्मको कारबाहीको व्यवस्था निर्देशिकामा गरिएको पनिकाले जनाएको छ।

परीक्षा निरीक्षक र केन्द्र अध्यक्षले अमर्यादित कार्य गरे, कसुर हेरी घटुवा, बढुवा रोक्का, ग्रेड घडाउने तथा निलम्बनसम्मको कारबाही हुने उपनियन्त्रक अर्यालले जनाए। ‘निरीक्षकलाई बढी जिम्मेवार बनाउन यो वर्ष प्राथमिक तहका सकेसम्म स्थायी शिक्षकलाई नै निरीक्षक तोक्ने व्यवस्था निर्देशिकामा गरिएको छ,’ उनले भने, ‘परीक्षामा निरीक्षक या केन्द्राध्यक्षले चिट चोराउने अमार्यदित कार्य गरे जिल्ला, क्षेत्र र केन्द्रबाट खटिएको परीक्षा अनुगमन टोलीले तत्कालै विभागीय कारबाहीको सिफारिस गर्न सक्ने जिम्मेवारी दिएका छौं।’
चैत १ देखि सुरु हुने एसएलसीका लागि पाँच लाख ४७ हजार दुई सय पाँच परीक्षार्थी आवेदन भरेका छन्। परीक्षाका लागि एक हजार सात सय ८६ केन्द्र तोकिएको छ। जनकशिक्षा सामग्री केन्द्रमा कडा सुरक्षा घेराभित्र परीक्षा नियन्त्रक खगराज बरालको उपस्थितिमा डेढ सातादेखि प्रश्नपत्र छपाइ भइरहेको छ।
६० जिल्लामा ‘होम सेन्टर’ नराख्ने व्यवस्था गर्न पनि पनिकाले जिल्लालाई निर्देशन दिएको छ। ‘तराईको कुनै पनि जिल्लामा होम सेन्टर नराख्न सबै जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिइएको छ,’ उपनियन्त्रक अर्यालले नागरिकसँग भने, ‘होम सेन्टरले परीक्षालाई अमर्यादित र अनियमित बनाउने भएकाले यस्तो निर्देशन दिइएको हो।’
परीक्षामा अनियमित कार्य गरे विद्यार्थी, निरीक्षक र केन्द्राध्यक्षलाई शिक्षा ऐन-नियमबमोजिम र अभिभावकलाई स्थानीय प्रशासनको सार्वजनिक ऐनअनुसार कारबाही हुने पनिकाले जनाएको छ।
उत्तर पुस्तिका हेर्न सात सय
नतिजा चित्त नबुझे उत्तर पुस्तिक हेर्न पाउने व्यवस्थालाई पनि पनिकाले केही सहज बनाएको छ। पोहोरसम्म एसएलसीको उत्तरपुस्तिका हेर्न स्कुल र जिल्लाको सिफारिससहित पनिकामा निवेदन दिनुपर्थ्यो। दस्तुर हजार रुपैयाँ थियो। यो प्रक्रिया झन्झटिलो र महँगो भन्दै राष्ट्रिय सूचना आयोगलले सहज बनाउन निर्देशन दिएको थियो।
‘केही साताअघि परीक्षा बोर्डको बैठकले उत्तरपुस्तिका हेर्न लाग्ने दस्तुर घटाएर सात सय बनायो,’ अर्यालले भने। नयाँ व्यवस्थाअनुसार परीक्षाको नतिजा चित्त नबुझे विद्यार्थीले पहिले ‘रिटोटलिङ’ गराउनुपर्छ। त्यसबाट पनि चित्त नबुझे उत्तरपुस्तिका हेर्न सक्कल प्रवेश पत्र र परीक्षार्थीको फोटोसहित पनिकामा निवेदन दिए पुग्छ। यस्तो निवेदनको आधारमा पनिकाले विषयगत विज्ञको उपस्थितिमा विद्यार्थीलाई उत्तरपुस्तिका हेर्न दिने छ।

Category: ,

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments