जीवनले फकाए सुष्मालाई

Unknown | 00:35 | 0 comments

हालैको एक दिउँसो अनामनगरस्थित मण्डला थिएटरमा सानु शर्माको उपन्यास 'अर्थ' माथि टिप्पणी गर्न आइपुगेका अभिनेता जीवन लुइँटेल अघिल्लो मध्यरात भने बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीको ल्याबभित्र थिए, युवती फकाउँदै । उनी अनेक अनुनयविनय गर्दै अघिल्तिर उभिरहेकी युवतीलाई फकाउने कोसिस गर्दै थिए । एकैछिनपछि उनले गीत गाएरै मन जित्न खोजे- माया गरेर हेर, चाहे आँखा तरेर हेर, मलाई दुवै मन पर्छ.... यसपछि बल्ल युवती मुस्कुराउन थालिन् । आइटम गर्लको छवि बनाएकी ती युवती थिइन् सुष्मा कार्की, तर शुक्रबार साँझ भने उनी गम्भीर मुद्रामा थिइन् । साँच्चिकै प्रेममा परेपछि भावुक बन्ने युवतीको अनुहारको भाव ल्याउँदै उनी जीवनको गीत सुन्दैथिइन् । ल्याबभित्र राजु गिरी निर्देशित नेपाली फिचर फिल्म 'विन्दास-२'को सुटिङ भइरहेको थियो । 'सीता' सुटिङका लागि जीवन सिक्किम गइहाल्नुपर्ने भएकोले मध्यरात 'विन्दास-२' को दुइवटा गीतको सुटिङ धमाधम भइरहेको थियो ।

 'खासमा प्रेम भनेको यस्तै पवित्र हुनुपर्छ है' बीचबीचको विश्राममा जीवन नृत्य निर्देशक शिव विकसँग अनौपचारिक हुन खोज्थे, 'फिल्ममा मात्रै होइन, जीवनमा पनि ।' उनलाई साथ दिन सुष्मा पनि बोलिदिल्थिन्- 'हो हो, ठीक भन्नु भो । साँचो प्रेमको सधैं उच्च कदर हुन्छ ।' निर्देशक राजुले चाहिँ अर्जुन पोखरेल र सुरेन्द्र भट्टराईका संगीत तथा प्रल्हाद तिमिल्सिनाको स्वर रहेको यो गीतले व्याख्या गर्न खोजेको थिम नै फिल्मको आदर्श रहेको बताए । 'प्रेम नै फिल्मको मुख्य विषय हो' आधा दर्जन फिल्मको निर्देशन गरिसकेका उनले ल्याबमा क्रोमा दृश्य लिँदै गर्दा भने, 'प्रेम जीवनमा आइपर्ने द्वन्द्व र समस्याहरू पनि समेट्न खोजेको छु ।' मधुकुमार श्रेष्ठले निर्माण गरेको फिल्म 'बिन्दास' को यो सिक्वेल हो, यसको निर्माता पनि उनै नै हुन् ।

फिल्ममा जीवन राजको चरित्रमा छन्, सुष्मा चाहिँ मेघाको चरित्रमा । अघिल्लो फिल्ममा यी दुईको भेट जेलमा भएको थियो । ड्रग्समा लागेर बिग्रेको कारण जेल परेको राज र हत्या अभियोगमा थुनिएको मेघाको जेलमै प्रेम परेपछिको स्थितिलाई सिक्वेलमा समेटिएको राजुले बताए । कथा लेखेका हुन् भोजराज देवकोटाले । शुक्रबार सुटिङ गरिएको गीतको पृष्ठभूमि भने मामाघर घुम्न सिक्किम आएकी मेघालाई तस्बिर लिँदै गर्दा भीरबाट लड्न थालेपछि राजले बचाएको फ्लास ब्याक हो । 'दिलमाया' बाट निर्देशन थालेका राजुले 'चन्द्रावती' र 'रक्षा' हुँदै 'विन्दास' सिक्वेलसम्म आइपुग्दा फर्मुला शैलीलाई नै निरन्तरता दिइरहेका छन् । उनले 'विन्दास-२' लाई लभ, कमेडी र एक्सनको त्रिवेणीको रूपमा दाबी गरे । सुशान्त कार्की, अनिसा गुरुङ, सुशील पोखरेलको पनि अभिनय रहेको फिल्म काठमाडौं आसपासमै सुटिङ गरिएको र आउँदो कात्तिक १५ गतेदेखि प्रदर्शनमा आउने उनले बताए । 

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments