मुस्ताङमा वर्षाले दुई घर बगायो, एक जना बेपत्ता
|
|
बाग्लुङ- वर्षाको समयमा कम पानी पर्ने मुस्ताङमा भिषण वर्षापछि धनजनको क्षति भएको छ। वर्षासँगै आएको भेलले बगाएर धादिङ घर भइ मुस्ताङमा ज्यालादारी गर्ने नाम नखुलेका एक जना बेपत्ता भएका छन्।
कागवेनी-९ तिरी खोलामा आएको भेलले दुई घर र २६ गोठ बगाएको मुस्ताङका प्रहरी निरीक्षक चुरा बहादुर कार्कीले बताए। गोठ बगाउँदा २४ गाई र ८ गधा मरेको प्रारम्भिक विवरण आएको आएको उनले बताए। 'दुई घर बगाएको भएपनि मानवीय क्षति भएको छैन,' उनले भने, ' आठ घरमा बाढीले असर पुगेकोछ।'
निरन्तर वर्षा भएकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए। खोला बढेर मार्फा गाउँ र कागबेनीको पिरी गाउँडुबानको खतरामा परेको छ। घटनास्थलमा नेपाली सेना, सशस्त्र, जनपद खटाएर उद्दारको काम भैरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज शर्मा गौतमले बताए।
वर्षाले दुईदिन देखि बेनी-जोमसोम सडक अबरुद्ध हुँदा मुस्ताङ जाने र फर्कने पर्यटकको विचल्ली भएको छ। प्रतिकुल मौसमका कारण पोखरा-जोमसोम रुटमा जहाज चलेका छैनन्।
बाढीकै कारण म्याग्दीको घतानमा चार घर भत्किएका छन्। घतान–८ का पदमबहादुर चोखाल, चन्द्रबहादुर चोखाल, फौदबहादुर चोखाल र तोरे नेपालीका घर भत्किएको प्रहरीले जनाएको छ। त्यस्तै सिंगा—३ सुर्केमेलामा रहेको शिवालय प्राबिको भवन नदी कटानका कारण जोखिममा परेपछि पठनपाठन बन्द गरिएको छ।
वर्षाले मध्य पहाडीको बाग्लुङ बजारदेखि बुर्तिवाङ सडक खण्डमा सवारी नचल्दा सयौँ यात्रु बाग्लुङमा अलपत्र परेका छन्। बजारदेखि रिजाल चोकसम्म गाडि पुगेपछि त्यस उता सबै अबरुद्ध छ। विभिन्न ठाउँमा पहिरा गएपछि जिल्लाका कुनैपनि ग्रामिण सडकमा सवारी संचालन गर्न नसकेको धौलागिरी जिप व्यवसायी समितिका सचिब विष्णु अधिकारीले बताए। पर्वतका ग्रामिण क्षेत्रमा चल्ने सबै सवारी रोकिएका छन्।
|
|
Category: News


0 comments