आत्मसमर्पणवादी 'कलिउड'

Unknown | 00:09 | 0 comments

कुनै मान्छे, ठाउँ वा चिजको नाम जुराउन 'कुण्डली' केलाइन्छ। मौलिक पहिचान उजागर गर्ने र तर्कसंगत लाग्ने नाम नै रोजिन्छ। तर, नेपाली फिल्मलाई चिनाउन अनौपचारिक रूपमा प्रयोग गरिने शब्द 'कलिउड'ले न मौलिक पहिचान नै बोक्छ, न यो तर्कसंगत नै छ।

फिल्म क्षेत्रका धेरैजसो हर्ताकर्ता र फिल्म पत्रकारले यो शब्द हुर्काइरहेका छन्। यही शब्दमा एउटा नेपाली फिल्म पनि बनिसकेको छ। पत्रिका, अवार्ड र कार्यक्रमको नामाकरण नै यस शब्दबाट भइसकेको छ। 'कलिउड' शब्दले के बुझाउँछ त? एकचोटि गुगलमा सर्च गरौँ। कलिउड टाइप गर्‍यौँ भने सबैभन्दा माथि देखिन्छ, तामिल सिनेमा। सर्च रिजल्टमा कलिउड शब्दसँग जोडिएका लिंक एक करोड ६८ लाख वटा रहेको जानकारी आउँछ। अब गुगल इमेजमा कलिउड टाइप गरेर खोजौँ। ठूलठूला वक्षस्थल र ढाड भएका अभिनेत्री तथा जुँगेवाल मोटाघाटा अभिनेताहरूको फोटो बुरुरु प्रकट हुन्छन्। नेपालका राजेश हमाल र रेखा थापाहरूको अत्तोपत्तो छैन त्यहाँ। विकिपेडियाले कलिउडको परिभाषा दिँदै भन्छ, 'हलिउड र कोदाम्बकमको ठिमाहा शब्द।' अर्थात्, तामिल फिल्म निर्माण गर्ने धेरैजसो कम्पनी कोदाम्बकम क्षेत्रमा भएकोले कलिउड शब्दको सिर्जना भएको रहेछ। तर, कलिउड पनि तामिल फिल्म उद्योगका संघसंगठनले मानेको औपचारिक शब्द भने होइन। बरु बलिउड शब्दलाई अक्सफोर्ड डिक्सनरीले मान्यता दिइसकेको छ। बम्बई र हलिउडको मिश्रणबाट बनाइएको बलिउड शब्द पनि अमिताभ बच्चन, आमिर खान, नसिरुद्दिन शाहजस्ता फिल्मकर्मीहरूले बहिष्कार गर्दै आएका छन्। यो शब्दले हिन्दी फिल्मलाई हलिउडकै नक्कलको रुपमा प्रस्तुत गर्ने धेरैको ठहर छ। हुन पनि कलिउड, बलिउड जस्ता शब्द हलिउडकै छाया हुन्।

स्तवमा अमेरिकी फिल्मलाई बुझाउन प्रयोग गरिने हलिउड के हो त? गुगलमा खोज्यौँ भने पाइन्छ, हलिउड अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जल्स शहरको एउटा जिल्ला हो। हलिउड एउटा ठाउँको नाम हो, जो अहिले पनि अस्तित्वमा छ। सन् १८७० सम्म हलिउड एउटा सानो बस्ती थियो, जतिखेर संसारमा फिल्मको आविष्कार नै भइसकेको थिएन। यसलाई सन् १९०३ मा नगरपालिका बनाई १९१० मा लस एन्जल्स शहरमा गाभिएको रहेछ। हावापानी राम्रो भएकाले सन् १९१२ देखि यस क्षेत्रमा फिल्म बन्न र स्टुडियोहरू खुल्न थालेका रहेछन्। हलिउड क्षेत्रका स्टुडियोहरूले बनाउने भएकाले अमेरिकी फिल्मलाई हलिउड शब्दबाटै चिनाइयो, जसमा बलियो तर्क भेटिन्छ।

जुन फिल्म उद्योगमा सिर्जनात्मकताको अभाव छ, जहाँ 'क्वालिटी'भन्दा 'क्वान्टिटी'लाई प्राथमिकता दिइन्छ, त्यहीँ बलिउड, कलिउड वा नलिउड (नाइजेरिया) शब्द हाबी भएको पाइन्छ। कलात्मक रूपमा उदाहरणीय फिल्म बनाउने फ्रान्स, चीन, इरान, इटाली जस्ता मुलुकमा यस्तो 'उड' जोडिएको शब्द प्रचलनमा छैन। अमेरिकामा पनि हलिउडको सञ्जालभन्दा बाहिर काम गर्ने फिल्मकर्मी छन्। उनीहरूले आफूलाई हलिउडको नामबाट चिनाउन चाहँदैनन्। दर्शकलाई मनोरञ्जन र शिक्षा प्रदान गर्ने प्रभावशाली माध्यम फिल्म एउटा कला हो। मौलिक, सिर्जनशील र अभिव्यक्तिप्रधान हुनैपर्छ फिल्म। आफूमात्र होइन दर्शकलाई पनि सिर्जनशील बन्न प्रेरित गर्नु फिल्मकर्मीको धर्म हो। र, यो 'धर्म'ले नेपाली फिल्मलाई चिनाउन 'कलिउड' शब्द प्रयोग गर्ने अनुमति कदापि दिँदैन।

नेपाली फिल्मकर्मीले त झन् हलिउड र बलिउडले बिस्तार गरिरहेको सांस्कृतिक साम्राज्यवादसँग जुध्नुपर्छ। यसका लागि फिल्मकर्मीले सुरुमा 'कलिउड' शब्द अपनाउन छाड्नुपर्छ किनभने 'उड' जोडिएको कुनै पनि शब्द स्विकार्नु भनेको आत्मसमर्पणवादी बन्नु हो। हलिउड र बलिउडसँग प्रतिस्पर्धा गर्ने हो भने उनीहरूको नक्कल फिटिक्कै गर्नु भएन। नक्कल गर्नु अझ पराजित हुनु हो। आफ्नो समाजको कथा, भाषा, शैली र संस्कृति नै नेपाली फिल्मकर्मीका सशक्त हतियार हुन्। हलिउड, बलिउड वा संसारका अरू कुनै पनि फिल्ममा हेर्न नपाइने कथा, भाषा र शैली चित्रण गरियो भने मात्र नेपाली फिल्मको पहिचान बन्छ।

पहिचानकै लागि संघर्ष गरिरहेको नेपाली फिल्मले 'कलिउड' शब्द अँगाल्नु सोझै आत्महत्या हो। यो शब्दको विरोध गर्ने फिल्मकर्मीहरू नेपालमा नभएका होइनन्। तर, उनीहरूमध्ये धेरैजसो 'कुनै नाम त चाहियो नि' भन्दै दिमाग खियाइरहेका छन्। कसैले उडमान्डु त कसैले सिनेमान्डु राख्नुपर्‍यो भन्दै सुझाव दिइरहेका छन्। कसैले चाहिँ नेलिउड पनि सुझाएका छन्। के फिल्म उद्योगलाई नाम अपरिहार्य छ त? वास्तवमा छैन। नेपालका डिभिडी पार्लरहरूमा हङकङ, कोरिया, थाइल्यान्डका फिल्म छ्यापछ्याप्ती पाइन्छ। खोइ त? ती फिल्म उद्योगको त कुनै नाम छैन। नेपाली फिल्म उद्योगलाई चिनाउने हो भने कलात्मक रूपमा उपलब्धिमूलक फिल्म बनाउनुपर्‍यो। उद्योगलाई प्रतिष्ठित बनाउने र पहिचान दिलाउने नामले होइन, फिल्मले हो।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments