कांग्रेसको भात खाएर कम्युनिष्टका विषयमा प्रशिक्षण
|
|
नेपाली कांग्रेसका अढाइसय नेता-
कार्यकर्ताहरुको चार दिने प्रशिक्षण पार्टी मुख्यालय सानेपामा मंगलबार
सम्पन्न भएको छ । विहानको भात-भान्सा कार्यालयमै खाने गरी चार दिनसम्म
लगातार आयोजना गरिएको उच्चस्तरीय प्रशिक्षणमा सहभागी कांग्रेस नेताले
संसारभरिको कम्युनिष्ट आन्दोलनका बारेमा समेत अध्ययन र छलफल गरे । साथै
नेपालका कम्युनिष्टहरुको वैचारिक प्रतिवाद कसरी गर्ने भन्नेबारे कांग्रेस
नेताहरुले गम्भीर छलफल गरे ।
कम्युनिष्टको सिको गर्दै अब गाउँ-गाउँमा प्रशिक्षण
कांग्रेस उपसभापति रामचन्द्र पौडेल संयोजक
रहेको प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको चार दिने प्रशिक्षक प्रशिक्षण
कार्यक्रमको तौर तरिका हेर्दा नेपाली कांग्रेस अब कम्युनिष्टको शैलीमा
वैचारिक ढंगले अघि बढेको प्रतीत हुन्छ । विगतमा कम्युनिष्टहरुले मात्रै
यसरी ४/५ दिनसम्म कार्यकर्तालाई भेला पारेर दर्शन, राजनीति, विपक्षी
दललगायत विषयमा प्रशिक्षण दिने प्रचलन थियो । तर, अघिल्लो वर्षदेखि पौडेल
नेतृत्वको विभागले कम्युनिष्टकै शैलीमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन
थालेको हो । यसअघि जिल्ला सभापति, क्षेत्रीय सभापति र जिल्ला सचिवहरुलाई
कांग्रेसले छुट्टाछुट्टै प्रशिक्षण दिइसकेको छ । एकातिर कांग्रेसले
पाठ्यक्रम नै बनाएर ३/४ दिन लामो प्रशिक्षण चलाउन थालेको छ भने एमाओवादी
लगायतका कम्युनिष्ट पार्टीले चाँहि विगतको कांग्रेसले जसरी प्रशिक्षणका
नाममा आमसभा गरेरै चित्त बुझाउन थालेको छ ।
नेपाली कांग्रेसले साउन २० गते देखि
जिल्ला, क्षेत्र, गाउँ र बुथ कमिटीसम्मै यस्ता प्रशिक्षण कार्यक्रम गर्ने
भएको छ । यसका लागि पाठ्यक्रम समेत बनाइसकेको कांग्रेस नेताहरुले बताएका
छन् । विगतमा कार्यकर्तालाई प्रशिक्षणमा त्यति जोड नदिने गरेको कांग्रेसले
अब आफ्ना कार्यकर्तालाई विचारले लैस गराउन र कम्युनिष्टहरुको वैचारिक
प्रतिवाद गर्नका लागि प्रशिक्षणलाई व्यवस्थित बनाउन लागेको हो ।
स्थायी प्रशिक्ष्णका लागि प्रत्येक जिल्ला
कमिटीमा पार्टी उपसभापतिको संयोजकत्वमा प्रशिक्षण विभाग गठन गरिने छ भने
हाल काठमाडौंमा प्रशिक्षण लिएकाहरुले कम्तिमा ३ वटा जिल्लाहरुमा प्रशिक्षण
दिनुपर्ने छ । यसका लागि मंगलबार प्रशिक्षार्थीहरुलाई जिल्ला छान्न लगाएर
र्फमसमेत भराइएको छ ।
खाजा र भात निशुल्क, सुत्ने व्यवस्था आफैं
मंगलबार सम्पन्न चारदिने प्रशिक्षणमा
प्रत्येक जिल्लाबाट दुई-दुई जना प्रशिक्षार्थीलाई पत्रसहित झिकाइएको थियो ।
त्यसैगरी भातृ संगठनका प्रमुखहरु समेत प्रशिक्षणमा सहभागी थिए ।
कार्यक्रममा करिब अढाइ सयको सहभागिता थियो । कांग्रेसको प्रशिक्षणमा
कम्युनिष्ट पार्टीले जस्तो प्रशिक्षार्थीलाई मेस एवं प्रवेश शुल्क तोकिएको
थिएन । बरु कम्युनिष्टहरुको भन्दा उल्टो बिहानको खाजा, खाना, दिउँसोका खाजा
र डायरी एवं डटपेनहरुको ‘प्याक’ निशुल्क उपलब्ध गराइएको थियो ।
कम्युनिष्टले जस्तो प्रशिक्षार्थीलाई एकै
ठाउँमा लहरै सुत्ने व्यवस्था पनि गरिएन । बिहान ८ बजे जम्मा भएका
प्रशिक्षार्थीले सुत्ने प्रबन्ध व्यक्तिगतरुपमा गरेका थिए ।
क-कसले, के-के पढाए ?
कांग्रेसको चार दिने प्रशिक्षणमा शिक्षकमा
रुपमा डा. पूर्णकान्त अधिकारी, गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्मा,
देवराज चालिसे, डा. मीनेन्द्र रिजाल, कृष्ण सिटौला र जेसिसका पूर्व
पदाधिकारीले समेत ‘क्लास’ लिनुभएको थियो । प्रत्येकले एकपटकमा ४५ मीनेट
पढाउने भने पनि गफको सुरमा डेढ घण्टासम्म पढाएको स्रोतले बतायो ।
कांग्रेस स्रोतका अनुसार गगन थापाले विगत
संविधानसभामा नेपाली कांग्रेसले खेलेको भूमिकाको विषयमा पढाउनुभएको थियो
भने धनराज गुरुङले पावर प्वाइन्टको माध्यमबाट विभिन्न देशको जातीय
द्वन्द्वबारे जानकारी गराउँदै नेपालको जातीय आन्दोलन एवं संघीयता र राज्य
पुनसंरचनाबारे प्रशिक्षण दिनुभएको थियो ।
कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले
नेपाली कांग्रेसमाथि विपक्षीले लगाउने आरोप र तिनको प्रतिवाद कसरी गर्ने
भन्नेबारे प्रशिक्षण दिनुभएको थियो । नेपाली कांग्रेस लोकतन्त्रवादी पार्टी
भए पनि यसको स्वामित्व निरंकुशतावादी कम्युनष्टिहरुले लिन खोजेको भन्दै
शर्माले कार्ल मार्क्र्स नेपालमा जन्मिएका भए नेपाली कांग्रेसमा लाग्ने
बताउनुभएको थियो ।
प्रशिक्षणमा कांग्रेसका नेताहरुले विश्व
कम्युनिष्ट आन्दोलनका विषयमा पनि पढेका छन् । विश्व कम्युनिष्ट आन्दोलनको
क्लास दिने गुरु हुनुहुन्थ्यो देवराज चालिसे । त्यसैगरी डा. मीनेन्द्र
रिजालले आगामी निर्वाचनको प्रचार अभियानबारे प्रशिक्षण दिनुभएको थियो भने
महामन्त्री कृष्णप्रसाद सिटौलाले निर्वाचनमुखी संगठन परिचालनबारे प्रशिक्षण
दिनुभएको थियो । जेसिसका पदाधिकारीबाट कांग्रेस नेताहरुलाई बैठक कसरी
बस्नेदेखि संगठन कसरी सञ्चालन गर्ने भन्ने विधि सिकाइएको थियो ।
प्रशिक्षणमा सहभागीहरुवीच समूहगत छलफल,
प्रश्नोत्तर एवं अन्तरक्रियासमेत गराइएको थियो । निर्वाचन केन्दि्रत
प्रशिक्षण भएकाले बढी समय चुनावमा कसरी श्रेष्ठ हुने भन्नेमै छलफल
केन्दि्रत भएको सहभागीहरुले बताएका छन् । माओवादीले विगतमा हुलहुज्जत गरेको
भन्दै चुनावमा कांग्रेसको युवा दस्ता बनाउने विषयमा पनि छलफल भएको थियो ।
जनजाति र गरीबलाई के भन्ने ?
प्रशिक्षण कार्यक्रममा सहभागीहरुले
प्रशिक्षक एवं नेताहरुलाई आगामी चुनावमा जाँदा जनताले उठाउने विभिन्न
प्रश्नहरुको जवाफ कसरी दिने भन्ने प्रश्न गरेका थिए ।
स्रोतका अनुसार कांग्रेसको प्रशिक्षणमा छलफल भएका केही प्रश्नहरु यस्ता थिए :
- नेपाली कांग्रेसलाई जनजाति विरोधी
पार्टी भनेर कम्युनिष्टले प्रचार गरेका छन् । गाउँमा जुन जाति बढी छन्,
त्यसैको राज्य दिन्छु भनेर प्रचार गरिएको छ, अब कांग्रेसले ती आदिवासी
जनजातिलाई कसरी कन्भिन्स गर्ने ? कांग्रेसलाई मधेसविरोधी भन्ने प्रचार
गरिएको छ, यसको प्रतिवाद कसरी गर्ने ?
- नेपाली कांग्रेसलाई धनीको पार्टी भनेर प्रचार गरिएको छ, गाउँमा गरिब जनतासँग भोट माग्न जाँदा उनीहरुलाई कसरी र के भनेर सम्झाउने ?
- कांग्रेसले सत्तामा हुँदा जनताको पक्षमा
केही गरेन भनेर विपक्षीले गाउँ गाउँमा प्रचार गरेका छन्, यस्तो आरोपको
खण्डन कांग्रेसले कसरी गर्ने ?
|
|
Category: News


0 comments