'नेगेटिभ' हजुरबा, 'डिजिटल' नातिनी

Unknown | 23:30 | 0 comments

न्युरोड पिपलबोटसँगैको फोटो कन्सर्न ५४ वर्षको भयो। यसका संस्थापक डिबी थापा ८० पुगे । दुई वर्षदेखि कम्पनीको नेतृत्वमा छिन्, उनकी नातिनी सिर्जना थापा, जो ३५ वर्ष भइन्। कर्मचारीहरू भन्छन्, 'सिर्जनाको कमान्डिङ राम्रो छ।' उनी आफूभन्दा १९ वर्ष जेठो संस्था सञ्चालनको तरिका ४५ वर्ष जेठा हजुरबाबाट सिकिरहेकी छन् । त्यसैले कम्पनीकी कान्छी सिर्जनालाई सबैभन्दा ठूलो कुर्सी सम्हाल्न पनि अप्ठ्यारो छैन।

'म सिधै यो कम्पनीको प्रबन्ध निर्देशकको कुर्सीमा बस्न आएको होइन । पूरा दुई वर्ष तालिम गराएपछि हजुरबाले योग्य सम्झेर जिम्मेवारी सुम्पनुभयो,' फोटो कन्सर्नको छैटौं तलामा बसेर कुराकानी गर्दा आफूले पार गरेका खुड्किलो सम्झँदै उनी भन्छिन्, 'सुरुमा काउन्टरमा काम गरेँ, वातावरण बनाएँ, निर्देशक भएँ, छ वर्षपछि बल्ल प्रबन्ध निर्देशकको जिम्मेवारी पाएकी हुँ ।'

डिबीका अरू उत्तराधिकारी नभएकाले सिर्जनामा बिरासत सरेको होइन । एक छोरा, एक नाति र चार नातिनीमध्ये उनले कम्पनी सम्हाल्न सक्ने खुबी सिर्जनामा देखे । र, लगाम सुम्पिए ।

राति अबेरसम्म काममा खट्ने नातिनीलाई उनी दैनिक नेतृत्व विकासको 'टिप्स' दिन्छन् । त्यसैले त उनी नेपाल डिजिटल कलर ल्याब संघको अध्यक्षसमेत छिन् । जुन संगठनलाई लामो समय डिबीले नेतृत्व गरेका थिए ।

डिबी थापाले त्यस्तो बेला फोटो कन्सर्न खोले, जुनबेला काठमाडौंमा स्टुडियो फोटोग्राफी भित्रिएको थिएन । त्योभन्दा धेरै त फोटो खिच्ने नै चलन थिएन । फिल्मलाई चाहिने नेगेटिभको व्यापार (कोडाक) ले डिबी मालामाल भए ।

सिर्जना यस्तो जमानामा फोटो कन्सर्न हाँक्न उभिएकी छन्, जब नेगेटिभ विस्थापित भएको छ । क्यामरा मोबाइल र ल्यापटपमै फिट छन् । फोटो धुलाउन ल्याब धाइरहने झन्झट उठाउन कोही तयार छैन । क्यामरा फिट भएका ग्याजेटले खिच्यो, राम्रो लागेको फोटो सामाजिक सञ्जालमा अपलोड ग¥यो, दुनियाँलाई देखायो ।

'डिजिटल दुनियाँमा नेगेटिभको कारोबार गर्ने फोटो कन्सर्नको साख जोगाउने चुनौती कसरी सामना गर्नुहुन्छ ?'
सिर्जना प्रस्ट रहेजसरी जवाफ दिन्छिन्, 'हो डिजिटल युगले हाम्रो व्यापारलाई केही अप्ठ्यारो पारेको छ । तर, दुनियाँको परिवर्तन अपनाउन सके अस्तित्व संकटमा पर्दैन ।'

डिजिटल क्रान्तिबारे बेलैमा सजग भएकाले व्यापार धरासायी हुन नपाएको उनी दाबी गर्छिन् । भन्छिन्, 'फोटो प्रिन्ट गर्न आउने घटेर के भयो, उनीहरू कप, टिसर्टमा प्रिन्ट गर्न आउँछन् । इन्जेक्ट र थर्मल प्रिन्टिङतिर व्यवसाय ढल्केको छ ।'

पाँच कक्षासम्म सेन्ट मेरिज, त्यसपछि भारतको गढवालस्थित मुसोरी इन्टरनेसनल स्कुलमा पढेकी सिर्जना बिबिए गर्न दिल्ली गइन् । उनलाई फोटोग्राफीको 'सिर्जना' पक्षले भन्दा व्यापारले आकर्षित ग¥यो । व्यापारमा पढाइले भन्दा हजुरआमाको संगतले पारंगत भएको उनी ठान्छिन् । 'हजुरबा सिर्जनात्मक फोटोग्राफीमा तल्लीन हुनुहुन्थ्यो । व्यापार त हजुरआमाले हाँक्नुभएको हो नि,' त्यही कला आफूले पनि सिकेको उनी बताउँछिन् ।

नेपालमा फोटो स्टुडियो धेरै खुले । डिबीले आधा दशक पुरानो स्टुडियोका संस्थापकको चिनारी बनाएका छन् ।
स्टुडियोको यात्रा कोट्याउँदा उनी रिल उल्टो घुमेजसरी धादिङको दुर्गम गाउँ पुग्छन् । रोजीरोटीका लागि भारतको कलकत्ता र बम्बई चहारेको दृश्य झलझली सम्झन्छन् ।

वीरगन्जसम्म हिँडेको, त्यहाँबाट लरी चढेको, भाडा नहुँदा छल्दै यात्रा पार गरेको, रेल चढेर कलकत्ता पुगेको दृश्य उनी 'पज' गर्छन् । अनि भन्छन्, 'मैले दुःखमा पनि चौकिदारी गरिनँ । कसरी हुन्छ नयाँ काम सिक्ने र आफ्नै मुलुकमा प्रयोग गर्नेबारे सोचेँ ।'

उनको फ्याल्सब्याक 'प्ले' हुन्छ ।
एक नामुद रक्स्याहाको फोटो स्टुडियोमा काम मिलेको, उसको गैरजिम्मेवारीलाई सम्हाल्न पाउँदा व्यवस्थापनको ज्ञान भएको, थप दक्ष हुन मुम्बई पसेको र 'यति भए पुग्छ' भन्दै नेपाल फर्किएको प्रसंग उनी 'फास्ट फरवार्ड' गर्दै बताउँछन् । न्युरोडको सानो कोठाबाट सुरु हुन्छ उनको फोटोग्राफी व्यापार । त्यसो त उनले सिनेमाटोग्राफीको पनि ज्ञान बटुलेका थिए, फिल्मको व्यावसायिक विस्तार हुनुअघि त्यो ज्ञान बिकेन ।

उनी फोटो खिच्थे, पछि खोज्न आउँदा पनि भेटिने गरी नेगेटिभ सञ्चित गरेर राख्थे । सहरमा त्यति फोटोग्राफर थिएनन् । उनले एउटा जानकारी पाए, 'राजपरिवारको फोटो कसले राम्रो खिच्छ भन्ने प्रतिस्पर्धा हुन्छ दरबारमा । राम्रो खिच्ने राजाका नजरमा पर्छन्, त्यसपछि कामको दुःख हुँदैन ।'

उनले प्रतिपस्र्धामा समेल हुने माहोल मिलाए । मेहनत गरेर लाइटिङ गरे । अरू फोटोग्राफरले पनि डिबीकै लाइटिङमा 'क्लिक' गरेपछि उनको कला खासै भिन्न देखिएन ।

अर्कोपटक उनले निवेदन गरे, 'म एक्लै फोटो खिच्ने अवसर पाऊँ ।' उनको कुरा सुनुवाइ भयो । उनको कलाले कदर पायो ।

'रानीको नाक अलि थेप्चो, नमिलेको थियो म मिलाएर खिचिदिन्थेँ, बत्तीका प्लकले नराम्रो देखिने भित्तालाई राम्रो देखाइदिन्थेंँ,' यी कलाले उनलाई दरबारका समारोहमा क्यामरा सोझ्याउने हैसियतमा उकाल्यो ।

वीरेन्द्र राजा भएपछि त उनका भ्रमणमा डिबी नछुट्ने भए । 'राजाको फोटो खिच्ने काम साह्रै अप्ठ्यारो । स्टिल क्यामरा, ३५ एमएमको सेलुल्वाइड क्यामरा, टेप, साउन्डका सामान एक भारी हुन्थ्यो । त्यो बोकेर सवारी हुनुभन्दा पहिला ओर्लेर खिच्नुपर्ने, राजाभन्दा पहिला प्लेनमा उक्लिसक्नुपर्ने, 'एकछिन है' भन्न पाउने भए पो !' राजाका भ्रमणको थुप्रै डकुमेन्ट्री बनाएका थापा भन्छन् ।

मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री हुँदा भारतले आर्थिक नाकाबन्दी ग¥यो । हिन्दी फिल्म पनि आएन । 'ए, डिबी तिमी वर्षमा कति फिल्म बनाउन सक्छौ,' मरिचमानको प्रश्नमा उनले भने, 'चार वटासम्म सक्छु ।'

'ल सक्दो बनाऊ, भारतीय फिल्मको भर पर्नु हुँदैन,' प्रधानमन्त्रीको यस्तो आदेश पाएपछि उनी फिल्म निर्माणमा पनि सक्रिय भए । 'धर्ती आकाश' र 'मायाप्रीति' बनाएका थापा तेस्रो फिल्म 'जीवन ज्योती' रिलिज गर्नेबेला सेन्सरको चपेटामा परे ।

'फिल्ममा आइजिपीको गाडी प्रयोग गर्दै उनको छोराले तस्करी गर्ने कथा थियो,' उनी भन्छन्, 'फिल्म तयार भयो, डिबी लामा आइजिपी भए । उनकी छोरी कलेज पढ्ने उमेरकी थिइन् । मसला खोज्नेलाई पुगिहाल्यो नि, यो त डिबी लामाकै कथा हो भन्ने हल्ला फिँजाइदिए, फिल्म देखाउन पाइनँ ।'

प्रजातन्त्र आएपछि बल्ल उनको फिल्म फुकुवा भयो । त्यसपछि पञ्चायतकालको 'शाही नेपाल चलचित्र संस्थान'बाट फेरिएको 'नेपाल चलचित्र विकास कम्पनी'मा उनले लगानी गरे । र, करिब १५ वर्ष फिल्म स्टुडियो र ल्याबको सञ्चालनमा सक्रिय भए ।

डिबीले कयौं विज्ञापन र फिल्म घरमै सुटिङ गरेका थिए । बाहिर सुटिङ गर्न जाँदा महिला कलाकार जुटाउन समस्या पथ्र्यो ।

उनी एभरेस्ट टुथपेस्टको विज्ञापन बनाउँदाको घटना सम्झन्छन्, 'मोडलिङ गर्न बल्लतल्ल शर्मिला मल्ललाई छानेँ, सुटिङमा उनको बाबुआमा नआई नछोड्ने भए । अलि यसो गर न भनेर छुन पनि नपाइने, साह्रै गाह्रो गरेर सुटिङ गरियो ।'

डिबीलाई सुटिङमा गाह्रो भयो, शर्मिलालाई विज्ञापन बज्न थालेपछि । बाटो हिँड्दा केटाहरूले जिस्क्याएर हैरान पारेपछि उनी गुनासो गर्न डिबीकहाँ पुगेकी थिइन् ।

उनी टिभी र पत्रपत्रिकामा मोडल देख्छन् । र, पहिलाकासँग तुलना गर्छन्, 'अहिलेका त के विधि उदार हुन्। यति देखाऊ न नानी भन्यो भने, यो पनि देखाऊँ भन्लान् जस्ता छन् । ग्ल्यामरभन्दा भल्गर देख्छु म ।'

जावलाखेल डिस्टिलरीको विज्ञापन बनाउँदा स्विमिङ गर्ने मोडल नपाएर अमेरिकी युवती गुहार्नुपरेको घटना उनलाई नै किम्बदन्तीजस्तो लाग्छ ।

नातिनी सिर्जना भने घरमा कलाकारको आउजाउ जति बाक्लो भए पनि कलाकारिताले आफूलाई कहिल्यै तानेन भन्छिन् । बलिउड फिल्मकी फ्यान उनलाई फिल्म बनाउने धोको भने छ।

'हजुरबाले फिल्म खेल्नचाहिँ उत्साहित गर्नुभएन ?'
'अहँ,' भन्दै उनी थप्छिन्, 'पर्दामा देखिनु ठूलो कुराजस्तो त लाग्थ्यो । तर, आफूमा हिरोइन मटेरियल नभएर हो कि कहिल्यै त्यस्तो कल्पना गरिएन ।' हिन्दी फिल्म 'काई पो चे' हेरेर निकै प्रभावित उनले व्यावसायिक फड्कोको सूचीमा फिल्म निर्माणलाई राखेकी छन् ।

फिल्मबाहेक घुमफिर र किनमेलको पनि सोख छ । वर्षको एकपटक बिदा मनाउन विदेश जान्छिन् । त्यही मौका पारेर किनमेल गर्छिन् । काममा 'स्ट्रेस' हुँदा ध्यान गर्छिन् र एकैछिनमा फूर्ति बढेको अनुभव गर्छिन् । हजुरबाले हेर्न आस्था च्यानलको प्रभाव नातिनीमा पनि सरेको छ । ओशोको प्रवचनमा उनी निकै आनन्द पाउँछिन् ।

रोन्डा व्यामको पुस्तक 'द सेक्रेट'बाट उनी प्रभावित छिन् । 'पहिला असफलतासँग खुब डराउँथे, अहिले सफल र असफल एउटै सिक्काको दुई पाटाजस्तो लाग्छ, दुवै चिज सहज बनेको छ,' उनी आफ्नो यो स्वभावको श्रेय आध्यात्मिक पुस्तक अध्ययनलाई दिन्छिन् ।

क्यामरासँग डिबीको निकै प्रेम छ । डिजिटलको प्रवेशसँगै यसको कलात्मक पाटो ओझल परेको उनको बुझाइ छ । 'जेमा पनि क्यामरा, जो पनि क्यामराम्यान,' नयाँ प्रविधिको आलोचनात्मक टिप्पणी गरे पनि डिजिटल क्यामरा र फोटोसप उनको समय कटाउने साथी बनेको छ । बगैंचामा राम्रो फूल फुले, पाहुना आए, चाडपर्व परे फोटो खिच्न उनी आफैं अघि सर्छन् । उनका लक्का जवान नाति पनि हजुरबालाई नदेखाई राम्रो फोटो खिचेको विश्वास गर्न सक्दैनन् ।

'एङ्गल र लाइटिङ हो ठूलो कुरा, त्यसमा ध्यान पु¥याउनुपर्छ,' क्यामरासहित खडा हुनेले उनीबाट यस्तो अर्ती पाइरहन्छन् । बिहान उठ्नेबित्तिकै सिर्जना हजुरबालाई भेट्छिन् र दिनभरिका कामबारे छलफल गर्छिन् । डिबी लौरो टेकेरै भए पनि दिनमा एकपटक फोटो कन्सर्न छिर्छन् र कर्मचारीसँग बातचित गर्छन् ।

'मिठो बोले सबैले राम्रो काम गर्छन्, तर्साएर काम लिन सकिन्न,' आफूले सुरुदेखि नै अपनाउँदै आएको यो तरिका उनले नातिनीलाई पनि सिकाएका छन् ।

'कन्यादान गर्ने भन्दा नातिनीलाई व्यापारी बनाउने धुनमा हुनुहुन्छ नि ?'

डाक्टरसँगको अपोइन्टमेन्ट सारेर आफ्नै निवास लालदरबारमा गफिन तयार थापा भन्छन्, 'मैले त्यो इच्छा पनि नगरेको होइन । तीनवटी नातिनीको घरजम भइसक्दा पनि जेठीले सुरसार नगर्दा केही चिन्ता थियो, अहिले हट्यो ।'

'बिहे त सबैले गरे, म बिहेबिनाको जीवनको अनुभव गर्न चाहन्छु, व्यापारमा जम्न चाहन्छु, विवाहको आवश्यकता ठानेको बेला तपाईंहरू सबैलाई भन्छु,' नातिनीको यस्तो भनाइ हजुरबालाई पनि निको लाग्यो । उनले पनि ठाने, 'पारिवारिक बन्धनले व्यावसायिक जीवनलाई सहज बनाउँदैन, नातिनीले चाहेको गरोस् ।'

सिर्जना विवाहलाई 'ब्युटिफुल थिङ्स' ठान्छिन् । तर, त्यसमा हतारिन नहुने उनको तर्क छ । 'बलिउड हिरोइनका 'लेट म्यारिज'को प्रभाव छ कि के हो ?' भन्दा हासेर उडाउँछिन् । 'लेखेको दिन, लेखेको मान्छेसँग होला नि । मलाई त ४० नपुगी बिहे गर्न हुँदैन जस्तो लाग्छ,' उनी भन्छिन् ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments