विजेता मनीषा

Unknown | 03:04 | 0 comments

काठमाडौं– 'फिल्मको चरित्र होइन, वास्तविक अनुभूति बताउन म यहाँ उभिएकी छु,' अभिनेत्री मनीषा कोइराला राजधनीको याक एन्ड यति होटलमा शुक्रबार मुस्कुराउँदो चेहरासहित बोल्न थाल्दा उनलाई ध्यानपूर्वक सुन्नेमा अधिकांश चिकित्सक थिए।धेरैले अनुमान गरेभन्दा फरक 'लुक्स'मा उनी झुल्किइन्। क्यान्सरको उपचारले थलिएको रुग्ण अनुहार होइन। ऊर्जाले भरिएको, क्यान्सरलाई जितेको 'विजेता मुस्कान' लिएर कार्यक्रममा प्रवेश गर्दा फूलको वर्षा गरेर आयोजकले उनको स्वागत गरे।

अमेरिकाको न्युयोर्कमा क्यान्सर उपचार गरेर भारतको मुम्बईमा आराम गरिरहेकी उनी क्यान्सर विशेषज्ञ चिकित्सकको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन काठमाडौं आएकी हुन्।
कोइराला परिवारकी छोरी, बलिउड अभिनेत्री र अहिले क्यान्सर 'सर्भाइभल'को जीवनलाई उनले आफ्ना तीन 'रियल रोल' बताइन्।
'यी तीनवटै भूमिका मेरो जीवनमा अत्यन्त महत्वपूर्ण छन्,' यसो भन्दै गर्दा आफ्ना भनाइ पुष्टि गर्ने फोटो स्त्रि्कनमा देखाइन्। क्यान्सर लाग्दाको भूमिकालाई भने अघिल्ला दुईभन्दा धेरै फरक 'म्यासिभ' रोलको सूचीमा राखिन्।
'अब चौथो रोल कस्तो होला?'
प्रमुख अतिथिको औपचारिक मन्तव्य सकेर बाहिर निस्किएकी मनीषा उत्तर दिन एकछिन अक्मकाइन्। 'पक्कै केही दमदार हुन्छ। हेर्दै जाउँ, अहिले स्पष्ट भएको छैन,' आत्मविश्वासले भरिएको जवाफ दिइन् उनले। मानौं, उनको चौथो रोल नारीप्रधान फिल्मकी प्रमुख पात्रको जस्तो हुनेछ, जितैजित।
'स्वास्थ्य कति महत्वपूर्ण हुन्छ भन्ने कुरा हस्पिटलको बेडमा बढी महसुस हुँदो रहेछ। लामो उपचारले स्वास्थ्यसँग राम्ररी परिचय गराइदियो,' पलाउँदै गरेको कपाल र हँसिलो भावमा उनले आफूलाई क्यान्सरको पीडाबाट छुटकारा पाएकोजस्तो होइन, त्यसलाई जितेको भाव दर्शाइन्।
उनले आफूलाई क्यान्सर सर्भाइभल भनेको मन नपर्ने बताइन्। 'मलाई मात्र होइन म जस्ता अरूलाई पनि क्यान्सर विजेता भनेको उपयुक्त सुनिन्छ,' उनले भनिन्। अभिनेत्री कोइरालाले स्वस्थ जीवन जिउने प्रक्रियालाई 'बोरिङ' होइन 'फन'का रूपमा लिन आग्रह गरिन्।
वर्तमान जीवन उनलाई नयाँ यात्रा जस्तो लाग्छ। त्यसो त पुराना कामबाट अलग्गिने सोच पनि उनको छैन। चार महिना आराम गर्ने, आफूलाई भित्रैदेखि बलियो बनाउने अनि काममा लाग्ने अठोट छ उनको।
'फिल्म खेल्नुहुन्छ?'
'खेल्छु नि, कुरा भइरहेको छ,' दुई वर्षअघि नेपाली फिल्म 'धर्मा'मा अभिनय गरेकी मनीषाले 'कस्तो रोलमा खेल्नुहुन्छ?' भन्ने प्रश्नलाई हाँस्दै उत्तर दिएर रमाइलो पारिन्।
'पहिला त राम्रै हिरोइन हुँ। बकमफुसे भूमिका त नहोला नि।'
अटोग्राफ माग्ने, फोटो खिचाउने र गफ सुन्न झुम्मिने दर्शकलाई उनले खानपिनबारे उपयुक्त टिप्स दिइन्। 'ठूलो रोग लागेपछि मात्र खानपिनमा सचेत हुनुपर्छ भन्ने धारणा गलत हो, अहिल्यैदेखि गरौं,' उनले आग्रह गरिन्।
'जीवनप्रति उत्तरदायी बन्नुपर्छ, सकारात्मक हुनुपर्छ, यो गर्न सक्छु भन्ने स्वभाव हुनुपर्छ। दिनचर्या राम्रो बनाए रोग लाग्दैन,' उनी डाक्टर जसरी बोल्न थालिन्, 'नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ। मर्ने बेला अस्पताल जाने होइन।'
कोकाकोलालगायत जंकफुडले स्वास्थ्य बिगार्ने बताइन्। आफ्नो दैनिकी फेरिएको जनाउ दिँदै आहार अनुशासनमा कटिबद्ध रहेको चर्चा गरिन्।
'बजारमा केमिकल प्रयोग गरेको खानेकुराको बिगबिगी छ। म अर्ग्यानिक चिज खान्छु,' योग र मेडिटेसन आफूले मात्र होइन परिवारका सबैले अपनाउने गरेको उनले उल्लेख गरिन्। खाने, सुत्ने, उठ्ने, प्रणायाम गर्ने सबैको निश्चित तालिका बनाएकी छिन् मनीषाले।
'शरीर र दिमागको ठूलो कनेक्सन छ। त्यसैले मननसिक र शारीरिक स्वास्थ्यबारे उत्तिकै सचेत हुनुपर्छ,' उनको आग्रहमा आध्यात्मिक गुरुको भाव झल्किन्छ।
कुनै पनि रोग जीवनमा आउन सक्छ। औषधीले मात्र निदान गर्न नसक्ने रोगलाई जित्न आत्मबल चाहिने सल्लाह दिइन्। खुसी र स्वस्थ जीवन जिउन अनुरोध गरिन्।
'क्यान्सर मृत्युदण्ड होइन। मृत्यु त हिँड्दा–हिँड्दै आउन सक्छ,' उनले भनिन्, 'दुर्घटनाजस्तो दर्दनाक छैन क्यान्सर। यसको उपचार पद्धति राम्रो हुँदै गएको छ।'
परिवार, साथी र समाजिक सञ्चालका प्रशंसकको शुभेच्छालाई उनले धन्यवाद फर्काइन्। 'आफूलाई भाग्यशाली सम्भि्कएँ। रोग त जसलाई जहिले पनि लाग्न सक्छ। तर, यस्तो माया गर्ने शुभचिन्तक सबैलाई मिल्दैन,' शुभचिन्तकबाट मिलेको भावनात्मक सहयोग र मार्गदर्शनको खुलेर कदर गरिन् उनले।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments