सचेतना कक्षा मरिगए लिन्न : दीपक

Unknown | 02:11 | 0 comments

काठमाडौं – कलाकार दीपकराज गिरीले ट्राफिक कार्यालयले दुःख दिएको भन्दै प्रेस विज्ञप्ति जारी गरेका छन्। सामाजिक सञ्जालमार्फत् जारी गरेको विज्ञप्तिमा उनले ट्राफिक कार्यालय प्रमुख डिआइजी केशव अधिकारीले चर्चाका लागि कलाकारलाई बदनाम गरेको आरोप लगाएका छन्।

'डिआइजी अधिकारीले चर्चामा आउने नियत स्वरुप विभिन्न सञ्चारमाध्यममा अनर्गल प्रचार गरिहेकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। एक घन्टाको सचेतना कक्षा लिनुको साटो दिनभर लगाएर उनीहरुकै सामग्री बनाइदिँदा पनि मेरो पहिचानमै आँच आउने गरी भइरहेका प्रचारले मलाई दुःखी बनाएको छ,' उनले विज्ञप्तिमा भनेका छन्।
मापसे चेकिङका क्रममा पक्राउ परेका केही सेलिब्रेटीहरुले लामो समय हुँदा पनि सवारी अनुमतिपत्र लिन नगएको सम्बन्धमा समाचारहरु बाहिर आइरहँदा गिरीले विज्ञप्ति जारी गर्दै ट्राफिक कार्यालयले नियतवश बदनाम गर्न लागेको गुनासो गरेका हुन्। गिरीले मापसे गरी सवारी साधन चलाएको स्वीकार गरे पनि पूर्व डिआइजी उपेन्द्रकान्त अर्यालले ट्राफिक सचेतना सम्बन्धी सामग्री बनाए लाइसेन्स फिर्ता दिने भनिएको सम्झौता डिआइजी अधिकारीले पालना नगरेको पनि गुनासो गरेका छन्।

'पहिले सजाय स्वरुप सचेतना सामग्री बनाए लाइसेन्स फिर्ता दिने कुरा भएको थियो। तर नयाँ डिआइजी सचेतना कक्षा नलिएसम्म नदिने पक्षमा हुनुहुन्छ। प्रहरीले पूरानो प्रतिबद्धता किन पालना गरेन?' गिरीले प्रश्न गरे। उनको लाइसेन्स प्रहरीले ६ महिनाअघि समातेको हो।

ट्राफिकका पूर्व प्रमुख उपेन्द्रकान्त अर्यालले भने गिरीसँग त्यस्तो सम्झौता नभएको प्रष्ट पारे। 'उहाँले ट्राफिक सचेतना सामग्री निर्माणमा सहयोग गर्नुभएको सत्य हो तर लाइसेन्स फिर्ता दिने भनेर सम्झौता भएको चाहिँ होइन। मापसेमा परेपछि सचेतना कक्षामा हाजिरी नगरी लाइसेन्स पाइन्न। यो सर्वसाधारणदेखि ठूलाबडासम्मलाई एक समान लागू हुन्छ,' अर्यालले भने।

डिआइजी अधिकारीले पनि विगतमा भएका सम्झौताका बारेमा आफूलाई कुनै जानकारी नभएको भन्दै नियम सबैलाई लागू हुने जानकारी गराए। 'जो सुकै भए पनि सचेतना कक्षा नलिएसम्म सवारी अनुमति पत्र फिर्ता पाइन्न। रक्सी खान लाज नमान्नेले कक्षा लिन पनि लाज मान्न भएन,' अधिकारीले भने।
अधिकारीले चर्चाका लागि कुनै काम नगरेको पनि स्पष्ट पारे। 'हामी चर्चाका लागि कुनै काम गर्दैनौं। नीति नियम पालन गराउने काम हो, त्यही गराइरहेका छौं,' अधिकारीले भने।

गिरी भने बाँकी सबै प्रक्रिया पूरा गर्न तयार रहे पनि सचेतना कक्षा लिन तयार नभएको बताउँछन्। 'मैले दिनभरि त्यो सामग्री हेरेर नै सचेतना सामग्री बनाएको हुँ। फेरि कक्षा त मरिगए लिन्नँ,' गिरीले भने।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments